सिराहा। लाहान नगरपालिकाको सडकमा ठेलागाडा धकेल्दै गरेका अन्दाजी १० वर्षे  बालकको अवस्था देखेर मधेश प्रदेश सभा सदस्य ललिता दास बिद्रोही भाबुक बनेकी छिन्।

सोमबार बेलुका कामको सिलसिलामा घर बाहिर निस्केपछि सांसद बिद्रोहीले सडकमा ठेला लिएर जाँदै गरेका २ जना बालकलाई देखिन । सोधपुछ गर्दा ठूलो बालकले आमा बितेको र आफुहरु कवाडी टिपेर जीवन बाच्न बाध्य भएको बताएका थिए। उनले दिनभरि कवाडी सामान जम्मा गरेर बेलुका बेच्ने र आएको आम्दानीले दाजुभाइले खाना खाने गरेको बताए।

ठेला गाडीमा कवाडी संगै बसेको सानो बालक ज्वरोले सिकिस्त रहेको देख्दा सांसद बिद्रोहीले तत्कालै यी बच्चाहरुलाई  पुनर्स्थापनाका लागि जोडदार माग राखेकी छिन्। उनले तिनै तहको सरकार र संघ संस्थामाथि प्रश्न उठाएकी छिन्। 

नेता बिद्रोहीले आफ्नो फेसबुकमा यसो लेखेकी छिन:--
"लहानमा आमा बितिसकेको यी अन्दाजी 10 र 8 बर्षको यी दुई बालक दिनभर कवाडी बिछेर बेलुका बेच्छन्। सडकको पेटीमै बस्छन्। म स्कुटीमा बजार गैरहेको बेला अचानक नजर परेछ। म निशब्द भए। कान्छोलाइ ज्वरो लागेछ त्यसैले कवाडी संगै ठेलामा राखेछ। कहाँ छ्न बाल अधिकार? तीन तहको सरकार र संघ संस्थाहरु के गरिरहेका छ्न?यस्ता परस्थितीको जिम्मेवारी को हुन? अबिलम्ब यिनीहरुलाइ पुनर्स्थापना तथा बाल मानव अधिकार दिनकालागी सम्बन्धित हरेक निकाय संग दवाव दिन चाहन्छु।"