लाहान । सुरक्षाको बिषयलाई लिएर फैलाईएको सूचना प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। बितेका केही दिन देखि लाहान क्षेत्र भित्र चोरी डकैतीको हल्ला अनावश्यक रुपमा फैलिएपछी ईलाका प्रहरी लाहान (क) ले एक बिज्ञप्ति जारी गरेका छन ।
लाहानका प्रहरी निरीक्षक अबिनाशद्वारा जारी बिज्ञपति अनुसार हालका दिनहरुमा लाहान न.पा.को वडा एरियाहरुमा शान्ति सुरक्षाको बिषयलाई लिएर गलत, मनोगत र भ्रमपूर्ण सूचनाहरु प्रवाह भई रहेको र बिहेको जन्ति गाडिलाई समेत डकैत गर्न आएको भनी अफवाह फेलाईएको लगायतका बिषयहरुमा यस कार्यालयको ध्यान आकर्षण भएको छ ।
अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका हेतु शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र खटिदै आएको यस ईलाका प्रहरी कार्यालयको वडा एरियाहरुमा डकैति हुँदैछ भनि अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने र मानिसहरुलाई त्रसित बनाउने कुतत्वहरु सक्रिय रही जनमानसमा भ्रम फैलाउने कार्य गरेको भन्ने बुझिन आएकोले यस्तो भ्रामक, तथ्यहिन तथा झुट्टा हल्लाहरुको पछाडि नपर्न हुन तथा शान्ति सुरक्षाका मामलामा बिश्वस्त रही
आ-आफ्नो नियमित कार्य गर्न हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
शान्त समाजको कल्पना गर्न नसक्ने, अपराधिक क्रियाकलापमा संलग्न, प्रहरी कारबाहिमा परेका कतिपय ब्यक्ति तथा असन्तुष्ट पक्षहरुले निहित स्वार्थको निम्ति अफवाह फैलाएको हुनसक्ने र त्यसको सत्यतथ्य अनुसन्धान गरी सँलग्न जो कोहिलाई कानूनी दायरामा ल्याउन प्रहरी कटिबध्द रहेको कुरा समेत बिश्वास बिज्ञप्ति मार्फत दिलाएका छन । नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षा प्रदान गर्न सक्षम रहेकोले कुत्सित मनसायका साथ अफवाह फैलाउने तत्वहरुको भ्रममा नपर्न हुन र अफवाह फैलाउने तत्वहरुका बारेमा सहि सत्य सूचना उपलब्ध गराई शान्ति सुरक्षा कायम राख्ने कार्यमा सहयोग गर्न हुन सरोकारवाल निकायहरु तथा आम सर्बसाधारणमा अपिल गरिएको छ।