सिराहा । नेकपा एकीकृत समाजवादी सखुवानन्कारकट्टीले फुटबल गोल्डकप प्रतियोगिता शुरूवात गरेको छ । महदेवा पोर्ताहा स्थित चौरमा उक्त खेलको प्रारम्भ भएको हो ।

एकीकृत समाजबादी पार्टी सखुनान्कारकट्टी गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा शुरु भएको उक्त खेल  १० मंसिर देखि १७ गते सम्म चल्ने जनाईएको छ । गोल्डकप प्रतियोगिताको उद्घाटन प्रदेश २ का प्रदेश सभा सदस्य तथा एकीकृत समाजवादी पार्टीका युवानेता अशोक यादवले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद यादवले भने "राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवा वर्गको भुमिका महत्वपूर्ण छ ।" शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्ति विकास गरि यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरुले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेता यादवको ठम्याइ रहेको थियो ।

उता विशिस्ट अतिथिको रुपमा रहेका गाउँपालिका अध्यक्ष केदारनाथ यादवले युवा विद्यार्थीहरुको मनोबल उच्च गर्न फुटबल गोल्डकप आयोजना गरेको भन्दै कार्यक्रमको समापनमा संघीय सरकारको मन्त्री वा प्रदेश सरकारको मन्त्रीको बोलाएर ब्यवस्थित तरिकाले खेलको समापन गर्ने उद्घोष गरे ।


कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष अमला देवी यादव त्यसैगरी अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादव, पार्टीका जिल्ला कमिटी सदस्य मानबिर यादव, खुशी लाल् यादव, शुभनारायण यादव, धनेश्वर यादव, मोहित नारायण चौधरी, वडा नम्बर ५ का बैजनाथ यादव लगायतको सहभागिता रहेको थियो।


खेलमा जम्मा ८ वटा टिमले भाग लिएका छन् भने शुरुवाती खेल फयुजन फुटबल कलब गाईघाट र अमही फुटबल क्लब सिराहाले खेलेका थिए ।