लहान, सिराहा – लहान नगरपालिका–३ स्थित ललकु माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे भवन र मञ्चको शुक्रबार एक समारोहबीच मेयर महेश चौधरीले उद्घाटन गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता, नेपाली कांग्रेसका नेता फुलेश्वर महतो, नेकपा एमालेका नेता रामनारायण मेहता, वडा नं. ३ का अध्यक्ष रामदयाल महतो, शिक्षा शाखा प्रमुख अमिरी यादव, विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षकहरू सहभागी थिए।
विद्यालयले हालैदेखि अंग्रेजी माध्यममा पनि पठनपाठन सुरु गरेको छ। विद्यार्थी संख्या २००० नाघेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिएका छन्। उद्घाटन समारोहमा बोल्दै मेयर चौधरीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी आर्थिक वर्षमा विद्यालयका लागि थप चार कोठे नयाँ भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए।
स्थानीय तहबाट गरिएको यस्तो लगानीले गुणस्तरीय शिक्षामा टेवा पुग्ने र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।