लहान । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई ध्यानमा राखेर नयाँबजारस्थित खुट्टीखोला किनारमा आधुनिक तरकारी बजार बनाउने भएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले २ करोड २९ लाख ७४ हजार ५२० रुपैयाँ लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गरे।
जनसङ्ख्या र व्यापारको हिसाबले मधेस प्रदेशमा लहान तेस्रो ठूलो बजार मानिन्छ। यहाँका किसानको उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउन आधुनिक संरचना बनाउन लागिएको नगरप्रमुख चौधरीले बताए।
‘वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशको ठूलो बजार हो। पहिलेदेखि नै यहाँ अव्यवस्थित हाट बजार चल्दै आएको थियो। अब यसलाई व्यवस्थित बनाउँदैछौँ,’ उनले भने।
बढ्दो जनघनत्वलाई हेरेर बनाइने सुविधासम्पन्न संरचनाले किसान र बजारवासीलाई फाइदा पुग्ने उनको बुझाइ छ। चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ सटरसहितको दुईतले पक्की भवन बन्नेछ। किसानले आफ्नो उत्पादन सजिलै बेच्न सकून् भनेर स्टलको व्यवस्था पनि गरिनेछ।
यो निर्माण विसं २०८३ असार २० गतेसम्म सक्ने गरी ठेक्का सम्झौता भएको छ। लामो समयदेखि व्यवस्थित हाट बजारको प्रयास चलिरहे पनि अब काम सुरु भएकाले तरकारी व्यवसायी उत्साहित छन्। हाटबजार समितिका अध्यक्ष राजकुमार साहले यो कुरा बताए।
‘करिब पाँच बिघा क्षेत्रमा यहाँ हटिया चल्दै आएको छ। हप्ताको दुई दिन (सोमबार र शुक्रबार) लाग्ने हटियामा हजारौँ मानिस आउँछन्। यस्तो व्यस्त बजारलाई व्यवस्थित संरचना बनाइदिनुले तरकारी व्यवसायीलाई उत्साह थपेको छ,’ साहले भने।
बढ्दो जनसङ्ख्याको चापले व्यवस्थित बजारको अभाव थियो। पहिले राजमार्ग किनारमै बाटो छेकेर तरकारी बिक्री हुन्थ्यो। अब आधुनिक बजार बनेपछि दैनिक करोडौँको कारोबार हुने व्यवसायीको अपेक्षा छ। रासस