सिराहा । रोजगारीका लागि भारत गएको बालेश्वर यादव घरपरिवारबाट सम्पर्क विहिन भएको छ। रोजगारको सिलसिलामा भारतको पन्जाब गएको बरियारपट्टी गाउँपालिका १ नरगी टोल बस्ने बालेश्वर यादव ७ महिना देखी  परिवारसंग सम्पर्क विहिन रहेका छन् ।

नरगी गाउँकै सुरजनाथ यादवले  बालेश्वरलाई ललाइ-फकाई पन्जाब लगेको र उनी गएको केहिदिन पछि बाट सम्पर्क विहिन भएको बालेश्वरका बुवा शितल यादवको भनाई छ। उनले भने 'मेरो छोरा जेठ महिनादेखी नै सम्पर्कमा छैन । सुरजनाथ घर फर्किदा हामीले आफ्नो छोराको बारेमा सोधपुछ गर्यौ उसले तपाईको छोरा एक दिन मोबाईल किन्न गयो तर फर्केर आएन भन्ने जवाफ फर्कायो।'

पीडित परिवारका अनुसार सुरजनाथ यादव पन्जाबमा कामदार लग्ने एक ठेकेदार हुन। उनी खेतीपातीको समयमा सिमावर्ती गाउँहरुबाट गरिब निमुखालाई काम रोजगारको लागि भारत लग्ने गरेका छन। सम्पर्क विहिन भएका बालेश्वरका पिता शितल यादवले सुरजनाथ माथी छोरालाई बेचेको समेत आरोप लगाएको छ।

बालेश्वरका पत्नी पुनिता यादव २ जना काखे बालकसहित बिचल्लीमा परेकी छिन् । पीडित परिवारलाई न्याय दिलाउन बरियारपट्टी -१  को युवानेता सरोज यादवले कानुनी पहल थालेको बुझिएको छ। नेता यादवका अनुसार यदि पीडित परिवारले सुरजनाथ माथि लगाएको आरोप सहि छ भने उक्त ब्यक्तिलाई हदैसम्मको कानुनी कार्यवाही हुनुपर्छ ।