लाहान - सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय  जिबानन्द  चौधरी  र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।

हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लहान नगरपालिका-१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद गरिएको छ।
यसैगरी उनीहरु सवार स ९ प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ।

पक्राउ परेका उनीहरु उनीहरु विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारबाहीको लागि सम्बन्धित  निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। साभार: नेपाल लाईभ