मनोज बनैता 

सिराहा । सिराहाको लाहानमा एक युवकले आफ्नो प्रेमिकालाई सुत्केरी हालतमा छोडेर फरार भएको छ । प्रेमिकाले बच्चा जन्म दिएको खबर पाए लगत्तै प्रेमी फरार भएका हुन । 

लाहान नगरपालिका वडा नं. २४ बस्ने नारायण रायको छोरा वर्ष २२ को धिरज रायले त्यहीँ बस्ने नैना देवी महतोलाई सुत्केरी अवस्थामा छोडेर फरार भएका छन । २ वर्षको लामो प्रेम सम्बन्ध पश्चात् अषाढ १२ गते बालिकालाई जन्म दिएको नैना देवी बच्चा बोकी न्यायको खोजीमा यताउता भौतारिरहेकी छिन । बच्चाको जन्म पछि प्रेमी धिरज रायले उनलाई अस्विकार गरेपछि  पीडित नैना महतोले ईलाका प्रहरी कार्यालय (क) लाहानमा विपक्षी झिकाई आवस्यक कार्यवाही गरि पाँउ भनी निवेदन दिएकी छिन । 

को हुन नैना देवी महतो ? 

सिराहाको लाहान नगरपालिका वडा न. २४ मा जन्मेकी नैना देवी महतो हलखोरी महतोको जेठी छोरी हुन । नैनाको बुवा आर्थिक संघर्ष गर्दै उनको बिहे आज देखि करिब १० वर्ष अगाडि सिराहाका सखुवानन्कारकट्टी गाउँपालिका वडा न. २ बस्ने बुहारी देव कुमार महतो संग गरेका थिए । माईत झैं घरको आर्थिक अवस्था पनि दयनीय भएको हुनाले पति-पत्नीको आपसी सहमतिमा पति वैदेशिक रोजगारीको लागि खाँडी मुलुक जाने निधो गरे । वैदेशिक रोजगारीको प्रक्रिया र रकमको जोहो गर्दागर्दै २ वर्ष बित्यो । पति-पत्नी बिच  पहिलो सन्तान पाएर मात्र कतै जाने आपसी समझदारी भयो । अर्को वर्ष नैनाले प्रथम सन्तानको रुपमा छोरी पाईन । पतिले जोहो गरेको रकम म्यानपावरलाई बुझाएर भिसा मगाए । पारिवारिक समृद्धिको सपना बोकी पति बुहारी देव महतो विदेश उडे यता नैना आफ्नो नवजात शिशुको पालनपोषणमा लागिन । समय बित्दै गयो, पतिको प्रगतिको खबर सुनी नैना अत्यन्तै खुशी हुन्थिन । ईमो द्वारा पति-पत्नीको दिनहुुँजसो कुरा हुन्थ्यो । पत्नीको ईच्छा केहि दिन माईतमा गएर बस्ने थियो जसमा पतिले समेत मन्जुरी दियो । माईतमा बसाइँको दौरान नैनाले आफ्नै १ छिमेकी युवक धिरज रायलाई भेटिन । राय नैना भन्दा उमेरमा कान्छो थियो । दुवैले एकअर्काको मोवाईल नम्बर लिए । धिरज र नैनाको फोन सम्पर्कमा माया पिरतीको कुरा हुन थाल्यो । केहि समय नबित्दै दुवैजना बिच शारीरिक सम्बन्ध हुन पुग्यो । धिरजले नैनालाई जुनसुकै हालतमा अपनाउने कसम खाने गर्थे । लामो शारीरिक सम्बन्धका कारण नैना गर्भवती बन्न पुगीन । धिरजले खबर सुनेपछि नैनालाई केहि फिकिर नगरी बच्चाको जन्म दिन भने । उनले बच्चा जन्मे लगत्तै विहे गर्ने आश्वासन दिए । अषाढ १२ गते नैनाको कोखबाट दोश्रो छोरीको जन्म भयो तर दुर्भाग्य धिरजले आफ्नो वाचा कसम तोडदै फरार भए । उनले नैना र उनको बच्चालाई स्विकार्न ईनकार गरे । उता बिदेशमा रहेको नैनाको पतिले समेत वास्तविकता बुझे र आफुले जुनसुकै हालतमा उनी संग सम्बन्ध नराख्ने फैसला लिए । यसरी नैना र उनको दुई सन्तानको बिचल्ली भएको छ ।