सिराहा । नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै देशभरका १४ जना जनप्रतिनिधिलाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेपनि लाहानमा उक्त निर्णय कार्यान्वयन भएको देखिएन । लाहान नगरपालिकाका प्रतिनिधि सतमीलाल दास ताती पार्टीको कार्यवाहीलाई समेत अटेर गरी हालसम्म सरकारी सेवा सुविधा लिदै गरेको खुलेको छ । 


तातीले हालसम्म नगरपालिकालाई सरकारी मोटरसाइकल नबुझाई प्रयोग गरेको खबर छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम भुषालले पदमुक्त जनप्रतिनिधिले  मोटरसाइकल आफै बुझाउनु पर्ने डिएम खबरलाई बताए । नगरपालिकाबाट चिट्ठी किन काट्नु भएन त? भन्ने प्रश्नको उत्तर दिदै भुषालले भने 'चिट्ठी काटिएको छ कि छैन त्यो त हेर्नैपर्छ । हेरेर बताउँछु ।' चिट्ठी काटने जिम्मेवारी प्रमुख प्रशासकिय अधिकृतकै भएपनि उनले कुरा बङ्ग्याएर पदमुक्त जनप्रतिनिधिलाई संरक्षण गर्दैगरेको देखिएको छ । यसरी सरोकारवालापनि मौन देखिनु दु:खद पक्ष भएको माओवादीको नेता उमेश साहले बताए । 


पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि छन् । त्यस्तै कैलालीका ४, सिराहाका १ र ओखल्ढंगाका १ र कैलालीका १ जना जनप्रतिनिधिको पनि पदमुक्त भएका छन् ।