सप्तरी । सप्तरीको कदमाहा स्थित जोन प्राविधिक ईकाईमा ब्यापक भ्रष्टाचार भएको खुलेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई धनगढी सिरहा अन्तर्गत पर्ने जोन प्राविधिक ईकाई कदमाहा, सप्तरीमा लाखौं रकमको हिनामिना भएको सप्तरीका किसानले गुनासो पोखेका छन । 


परियोजना कार्यालय प्रमुख रविन्द्र महथाले आँप जोनलगायत अन्य जोनमा ब्यापक अनियमितता गरेको खुलासा भएको हो । परियोजनाको कुनैपनि कार्यक्रममा समिति सदस्य, कार्यालय प्रमुख र प्राविधिक समितिको रोहवरमा निर्णय हुनुपर्ने प्रावधान रहेपनि कार्यालय प्रमुख महथा समिति सदस्यलाई किनारा लगाई कर्मचारीहरुको मिलोमतोमा निर्णय गर्ने गरेका छन । महथाको एकलौटी निर्णयविरुद्ध आँप जोन कदमाहाका संयोजक रामकुमार यादवले घोर आपत्ति जनाएका छन । 


उता स्थानीय कृषक समुहका किसानवर्गले समेत महथाको काम गर्ने रविया प्रति असन्तुष्टि जनाउदै चलखेल भएको रकमको सम्बन्धमा छानबिन माग गरेका छन । कृषक समुहको अनुसार महथा प्राविधिक संगको सेटिङमा लाखौं रकम हिनामिना गरेको छ। 


समिति संयोजक रामकुमार यादवका अनुसार माटो शिविर, साना सिचाईलगायतमा समेत ब्यापक घोटाला भएको छ । साना सिचाईको लागि सुचीकृत समुह, सहकारीका किसान, कृषि उद्यमी, कृषि ब्यापारी लाई बोरिङ र मोटर दिईने गरिन्छ । उक्त कार्यक्रमको लागि २४ लाख ७५ हजार रकम छुट्टाईएको छ तर प्रमुख महथाले त्यसमा समेत अनियमितता गरेको यादवले बताए । उनको अनुसार महथाले चोरीचोरी एस्टिमेट बनाई कमिशनको लागि सूचीकृतमा नपरेका ब्यापारीबाट सामान खरिद गरेका छन । प्रत्येक किसानलाई ४५ हजार बराबरको सामान दिनुपर्नेमा केवल २० हजारको सामान दिईएको उनको दावी रहेको छ । 


त्यसैगरी १० लाख बजेट भएको चक्लाबन्दी कार्यक्रम पनि कार्यक्षेत्र बाहिरको आफ्नो आफन्तलाई दिएको यादवको आरोप छ । साथै कृषि औजार अन्तर्गत पर्ने मिनि ट्रेलरमा समेत महथाले घोटाला गरेका छन । बजार भाउ ८५ हजार पर्ने मिनी ट्रेलरको लागि सुचीकृत सप्लायरलाई नदिई अन्यलाई १ लाख १० हजारको ईस्टिमेट गरि दिएको किसान समुहले जनाएको छ । 

४० लाख बजेट भएको बिउ स्रोत केन्द्र समेत महथाले विना सुचना निकाली आफ्न्तलाई दिएको उक्त समुहले बताए । 


महथाको काम गर्ने रवैया प्रति असन्तुष्ट किसानले उनकै उपस्थितिमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारको भन्डाफोर गरेका छन । पत्रकार सम्मेलनमा प्रमुख महथाले आफुलाई चोखो साबित गर्ने प्रयास गरेतापनि उपस्थित किसानले उनको वास्तविकता सार्वजनिक गरेका थिए । कृषक समुहले महथा विरुद्ध सरोकारवाला निकायमा उजुरी दिने तयारी भईरहेको समितिका संयोजक यादवले जानकारी दिए ।