सिरहा । सरकारद्वारा जारी नागरिक एप सुरक्षित नभएको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले बताएका छन । कम्प्युटर सफ्टवेयरमा समेत ईन्जिनियरिङ गरेका डा. राउत भन्छन् :-  केही दिनदेखि नागरिक एपको हल्लाखल्ला छ। 'नागरिक एप' बनाउनु निश्चय नै सराहनीय कदम हो। जो-जो यस प्रयासमा लागेका छन् तिनीहरू पक्कै पनि धन्यवादका पात्र हुन्।


तर एउटा देशभरिकै नागरिकको सम्पूर्ण डेटा (बैंक खाता विवरण, पासपोर्ट, नागरिकता, शैक्षिक प्रमाणपत्र, निजी मोबाइल, त्यसको सँधैभरिको लोकेशन ट्रेस आदि) सँग खेल्नु/स्टोर गर्नु निकै नै संवदेनशील कुरा हो, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँगै जोडिएको कुरा हो।  मानौं, त्यो सम्पूर्ण एकमुष्ठ विवरण कुनै विदेशी शक्ति वा आतंकवादी संगठनको हात लाग्यो भने के हुन्छ?


अलिकति रिभर्स ईन्जिनियरिङ प्रयोग गरेर कोड हेर्ने हो भने थाहा हुन्छ  प्राय: यी एप्सले न त उपयुक्त इन्क्रिप्टिङ प्रयोग गरेका छन् , न त यिनीहरूको सर्भर नै सुरक्षित छ। प्राय:ले सबै डेटा विदेशका सर्भरमा राख्दा रहेछन्। कति एप्सले त पासवर्ड समेत प्लेन टेक्सट (मान्छेले सजिलै पढन सक्ने) फरमेटमा स्टोर गरेर राखिदिन्छन्।  शेयर बजारको पूरै विवरण र लाखौंको बैंकिक विवरण विदेश/फ्रान्स/अमेरिकाको सर्भरमा, त्यो पनि प्राय:  उपयुक्त इन्क्रिप्टिङ बिना राख्नु कति खतरनाक हो, अनुमान गर्न सकिन्छ। पूरै देशको कारोबारलाई नै एउटा जाबो सर्भर कम्प्रोमाइज गरेर ठप्प पार्न सकिन्छ। बाहिर जे भने पनि, शक्तिशाली राष्ट्रहरूले त त्यो सर्भरमा भौतिक पहुँच नै राखेका हुन्छन्, र राम्ररी इन्क्रिप्टेड डेटालाई पनि सुपरकम्प्युटरले डिकोड गरिराखेका हुन्छन्। 


त्यसैले, लहैलहैमा मात्रै हैन, अझ बढी समय दिएर, अझ बढी सुरक्षित बनाएर, सबै सर्भर र डेटा आफ्नै देशको सुरक्षित डेटा सेन्टरमा राखेर, राम्ररी टेस्ट गरेर नै यस्ता एप्सहरू प्रयोगमा ल्याउनु राम्रो हो । 


प्राइवेसी पोलिसी राखेको साइट आफैं 'इन्फेक्टेड'/ब्ल्याक लिस्टेड छ । एप्सले कसरी के-कस्तो जानकारी लिइराखेका छन्, स्टोर गरिराखेका छन्, र त्यसको उपयोग/दुरुपयोग कसरी र कुन शर्तमा हुनेछ, आमजनताले कसरी थाहा पाउने?